बाँके । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदान आजदेखि सुरु भएको छ । रमदानका बेला बिरामी, बुढापाका, बच्चा र गर्भवती महिलाबाहेक सबैजना दिनभर व्रत बस्छन् ।
रोजा अवधिभर बिहान सबेरैदेखि सूर्यास्त नहुन्जेलसम्म खान, पिउन, धुमपान गर्न, मनोरन्जनात्मक क्रियाकलाप गर्न निषेध गरिएको हुन्छ ।
त्यो समयमा गैर इस्लाम समुदायले पनि सार्वजनिक ठाँउहरुमा खान, पिउन, धुमपान गर्न, रेष्टुरेन्टहरु खुला गर्न, मनोरन्जनात्मक क्रियाकलाप गर्न पाउँदैनन् ।
त्यसैले साउदी अरब, कुवेत, कतार, युएई, ओमान, बहराइनलगायतका इस्लामिक देशमा कार्यरत नेपाली कामदारले यो नियमको ख्याल गर्नुपर्छ ।
तोकिएको ठाँउमा वा कोठा बन्द गरेर भने खानपिन र धुमपान गर्न सकिन्छ । आफूले लगाउने कपडामा पनि ध्यान दिनुपर्छ । धेरै खुल्ला वा शरीरमा टिमिक्क हुने कपडा लगाउन पाइन्न ।
कसैले जानेर वा नजानेर रमदानको नियम उल्लंघन गरेमा एक महिना कैद वा नगद जरिवाना वा स्वदेश फर्कनुपर्ने हुन्छ ।
रमदान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको थियो ।
दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य नभएको मोहम्मदले जानकारी दिए।