काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण गरेपछि नेपाल ल्याइने बताएकी हुन् ।
इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार (आज) राति नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ उड्दै छ । इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी दिइन् ।
उनले भनिन्, ‘यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो ।’ उनले इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुननसकेको बताउँदै भनिन्, ‘हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।’
धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् ।
आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको बताउँदै उनले भनिन्, ‘भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी आएको छ ।’ सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको पनि उनले बताइन् ।