बाँके । मधेश आन्दोलनमा नाका बन्दीको नेतृत्व गरेका पशुपति दयालु मिश्रालाई अवसरबादीको आरोप लगाउदै स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउन एमाले कार्यकर्ताहरुको दबाब सुरु भएको छ ।
मिश्रालाई उम्मेदवार बनाए एमाले पार्टी धरानमा पर्ने स्थानीय कार्यकर्ताहरुको भनाइ बाहिरिए पछि मिश्रा अत्तलिएका छन् ।
नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाका लागि मेयर पदमा केही महिना पहिले मात्र पार्टीमा सामेल भएका पशुपति दयाल मिश्र र उपमेयरमा गत निर्वाचन कै उम्मेदवार पार्टीका केन्द्रिय सदस्य शान्ति ढकाललाई सर्वसम्मतीबाट उम्मेदवार बनाएको खबर बाहिरिएलगत्तै एमाले बाँकेमा विवाद र असन्तुष्टि चुलिएको छ ।
सोमवार एक्कासी विभिन्न सञ्चार माध्यममा मेयरमा मिश्र र उपमेयरमा ढकालको उम्मेदवारी छनोट सर्वसम्मतीबाट भएको भनि समाचार प्रकाशित भएपछि ती समाचारको कडा प्रतिवाद गर्दै नेकपा एमालेका नेपालगञ्ज नगर कमिटिका अध्यक्ष दत्त प्रसाद आचार्यले उम्मेदवारका बारेमा कुनै पनि आधिकारिक निर्णय नभएको र बैठक स्थगित भएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभएको छ ।
पार्टीको उम्मेदवारलाई जिताउन प्रचार प्रसार लगायत रणनिति र योजना बनाउन मुख्य भूमिका निर्वाह गर्ने नगर कमिटिकै अध्यक्ष आचार्यले आधिकारिक निर्णय नहुँदै यसरी सञ्चारमाध्यममा प्रचार प्रसार गरेर अन्य नेता कार्यकर्तालाई अपमानित गर्न खोजिएको मनसायको स्टाटस फेसबुकमा लेख्नु भएको हो ।
अध्यक्ष आचार्यको सो अभिव्यक्तिले दुईवटा कुरालाई गम्भीर रुपमा ईंगित गरेको छ । एक त पार्टीको विधि, प्रक्रिया र पद्धती मिचेर पार्टीमा काम भैरहेकोतर्फ संकेत गरेको छ भने अर्कोतर्फ बाहिरबाट केही महिना पहिले मात्र आएका मिश्रको उम्मेदवारीको भित्रि भित्रै ठुलो असन्तुष्टि छ भन्नेतर्फ पनि ईंगित गरेको छ । नगरका मुख्य जिम्मेवार नेतानै असन्तुष्ट देखिएपछि अन्य कार्यकर्ता र नेताको त अवस्था सहजै बुझ्न सकिन्छ ।
एमालेका एक जना नेताले नाम नछाप्ने शर्तमा प्रश्न गरे, हरेक निर्वाचनमा अन्य दलबाट ल्याएर उम्मेदवारी दिने हो भने बर्षौदेखि पार्टीमा बसेर काम गरेर उमेर विताएकाले के गर्ने ? के को लागि जिवनभरी पार्टीको झोला बोक्ने ? उनले थपे, यस पटक धेरै साथीहरु असन्तुष्ट हुनुहुन्छ । यसको प्रभाव निर्वाचनको परिणाममा पर्नसक्छ ।
उता, मिश्र समर्थकहरुले भने एमालेमा निर्वाचन जित्ने हैसियत राख्ने कुनै नेता कार्यकर्ता नभएकोले मिश्रलाई पार्टीको केन्द्रिय सदस्य बनाउने र मेयरको टिकेट दिने शर्तमा केपी ओलीले पार्टी प्रवेश गराएको दावी गर्दै आएका छन् । मिश्रको आफ्नो निश्चित भोट बैंक भएकोले उनलाई एमाले भित्रयाईएको तर्क माथिका नेताहरुले दिएपनि एमाले भित्रै सो तर्कसंग असहमत हुनेहरु पनि धेरैछन् । एकजना पुराना एमाले कार्यकर्ताले धेरै वर्ष अगाडी काँग्रेसमा रहेको बेलाको जस्तो भोट बैंक अब मिश्रसंग नरहेको बताए । उनले मिश्रको ठुलो भोट बैंक भएको भए गत संसदीय निर्वाचनमा एमाले र माओवादीको समर्थन र सुर्य चिन्ह पाएर पनि दुबै पार्टीको भोट भन्दा बढी मत पाएको नदेखिएको जिकिर गरे ।
एमालेले आफ्ना नेता कार्यकर्ताहरुलाई मिश्रको पक्षमा एकतावद्ध भएर उभ्याउन सकेन भने परिणाम उसले सोचे भन्दा धेरै फरक पनि हुनसक्ने संभावनाबाट इन्कार गर्न सकिंदैन ।