बाँके । राप्ती सोनारी गाउँपालिकाको ९ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै कांग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरेकी छन् । राप्ती सोनारीका ९ वटै वडामा कांग्रेस बाँके क्षेत्र नम्बर १ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो ।
नेपाली कांग्रेस जिल्ला र क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले मनोमानी तरिकाले राप्ती सोनारी गाउँपालिकाको ९ वटै वडामा टिकट वितरण गरेकाले कांग्रेसमा असन्तुष्टी भएको उनको भनाई छ ।
असन्तुष्टीले कांग्रेसको जित्ने आधार नहुँदा र टिकट वितरणमा मनोमानीले कांग्रेसका विभिन्न ब्यक्तिले पार्टी परित्याग गरी राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुका साथै धेरै ब्यक्तिले बागी उम्मेदवारी दर्ता गराएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको नेतृ संगिताले विज्ञप्तीमार्फत प्रष्ट्याएकी छन् ।
उनी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधी छिन् । यही बैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका कार्यसमितिबाट उनको नाम गाउँपालिका अध्यक्षमा सिफारिस भएको थियो । तर, कांग्रेस जिल्ला कार्यसमिति संसदिय दलले आइतबार बेलुका राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्त पौडेल र उपाध्यक्षमा संगितालाई टिकट दिने निर्णय गरेको थियो ।