बाँके । बाँके जिल्लामा हात्तीपाइले (लिम्फेटिक फाइलेरियासिस) रोग पूर्ण रूपमा नियन्त्रण हुन नसकेपछि १६औँ पटकको आम औषधि सेवन अभियान सञ्चालन गरिने भएको छ। अभियान बिहीबारबाट नरैनापुर गाउँपालिका र शुक्रबारबाट डुडुवा गाउँपालिकामा सुरु हुने जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
सन् २०२५ मा गरिएको पछिल्लो सर्वेक्षणले बाँकेको अवस्था अझै पनि जोखिमपूर्ण देखाएपछि यस वर्ष पुनः अभियान सञ्चालन गर्न लागिएको हो। सर्वेक्षण अनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ। साथै १ प्रतिशतभन्दा बढी व्यक्तिबाट अरूमा रोग सर्ने सम्भावना देखिएकाले अभियानलाई प्रभावकारी बनाउनु पर्ने चुनौती रहेको छ।
जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार बाँके ‘क’ क्षेत्रको ३ लाख ५७ हजार ५ सय १३ र बाँके ‘ख’ क्षेत्रको ३ हजार १७२ जनसंख्या मध्ये परीक्षण गरिएकामा उल्लेख्य मात्रामा ‘आरडीटी पोजेटिभ’ र ‘एमएफ पोजेटिभ’ केस देखिएका छन्।
यस पटकको अभियानमार्फत नेपालगञ्ज उप–महानगरपालिकाका १ लाख ६९ हजार ३ सय ३९ जना, डुडुवा गाउँपालिकाका ४३ हजार ९ सय ७५ जना र नरैनापुर गाउँपालिकाका ४३ हजार ८ सय ९९ जना गरी कुल ३ लाख ५७ हजार ५ सय १३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ।
विगतका वर्षमा औषधि सेवन नगर्नुका मुख्य कारणहरूमा औषधिको प्रतिअसर हुने डर (३३.२८ प्रतिशत) र जनचेतनाको कमी (३२.५३ प्रतिशत) रहेको पाइएको छ। यसैगरी दीर्घ रोग, अनुपस्थिति र गलत धारणाका कारण पनि धेरैले औषधि सेवन नगरेको तथ्याङ्कले देखाउँछ। पेसागत रूपमा हेर्दा ५६ प्रतिशत व्यवसायी, ३८ प्रतिशत विद्यार्थी, ४२ प्रतिशत कर्मचारी, ६० प्रतिशत वृद्धवृद्धा र २७ प्रतिशत स्वास्थ्यकर्मीले समेत औषधि खान छुटाएको पाइएको छ।
अभियान सफल बनाउन स्वास्थ्य क्षेत्रले औषधि सेवनसम्बन्धी मापदण्ड प्रष्ट पारेको छ। ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र मधुमेहजस्ता सामान्य समस्या भएका तर दैनिक कामकाज गर्न सक्ने व्यक्तिले औषधि खान मिल्ने जनाइएको छ। पहिले औषधि खान छुटेका, रोग निको भइसकेका र सुत्केरी भएको ७ दिन पूरा भएका आमाहरूले पनि अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्नेछ ।
तर दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, ७ दिन नपुगेका सुत्केरी, ओछ्यानबाट उठ्न नसक्ने सिकिस्त बिरामी, अस्पतालमा भर्ना भएका, डायलाइसिस गराइरहेका तथा छारे रोग वा न्यूरोसिस्टिसर्कोसिसका बिरामीहरूले औषधि सेवन नगर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।
नेपालगन्जमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले हात्तीपाइले निवारण अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पारेका छन्।
उनका अनुसार हात्तीपाइले रोग पूर्ण रूपमा नियन्त्रण गर्न एकै चरणमा कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले औषधि सेवन गर्नु अनिवार्य हुन्छ। तर बाँकेका लक्षित पालिकाहरूमा यो मापदण्ड अझै हासिल हुन नसक्दा रोगको जोखिम कायम रहेको उनले बताए।
“एकैपटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६औँ पटक पनि अभियान चलाउन बाध्य हुनुपरेको हो,” महत्तोले भने, “यसले हात्तीपाइले रोग निवारणलाई झनै चुनौतीपूर्ण बनाइरहेको छ।”
उनले जनचेतनाको अभाव, औषधिप्रति गलत धारणा र प्रतिअसरको डरले अभियानको प्रभावकारितामा असर परेको उल्लेख गर्दै, यसपटक सबै सरोकारवाला र नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य कार्यालयले हात्तीपाइले जस्तो दीर्घ र अपांगता निम्त्याउने रोग अन्त्यका लागि सबै लक्षित नागरिकलाई ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ।