काठमाडौँ । एउटै चिह्नबाट चुनाव लड्ने सहमति गरेका राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा), जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) बिच सिट बाँडफाँड भएको छ । यी तीन दलले ५२ जिल्लामा उम्मेदवारी दिने भएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले ५५ सिट, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले ४१ सिट र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले २९ सिटमा उम्मेदवारी दिने तय भएको छ ।
झापाको क्षेत्र नम्बर ४ र ५ रामुपा, १ मा नाउपा नेपाल र क्षेत्र नम्बर २ र ३ जसपाले पाएको छ । मोरङको क्षेत्र नम्बर १, २ र ५ रामुपा, ३ र ४ नाउपा नेपाल र ६ जसपाले पाएको छ । सुनसरीमा क्षेत्र नम्बर ४ रामुपा र १ जसपालाई दिइएको छ । उदयपुरमा नाउपाले क्षेत्र नम्बर १ पाएको छ भने जसपाले २ नम्बर पाएको छ । सप्तरीमा २ र ३ नाउपा १ र ४ पाएको रामुपालाई दिइएको स्रोतले जनाएको छ ।
सिरहाको क्षेत्र नम्बर २ र ४ रामुपा, १ र ३ नाउपा र ४ नम्बर जसपाले पाएको छ । धनुषा र सर्लाहीका चारवटै सिट रामुपाले पाएको छ । महोत्तरीमा २ र ४ नम्बर रामुपा, १ नाउपा नेपाल र क्षेत्र नम्बर ३ जसपाले पाएको छ । रौतहट १, २ र ३ रामुपा र ४ नाउपा नेपालले पाएको छ । बाराको क्षेत्र नम्बर २ र ४ रामुपा र १ र ३ नाउपा नेपालले पाएको छ । पर्साको ३ र २ रामुपा, ४ नाउपा नेपाल र १ जसपालाई दिइएको छ ।
यस्तै चितवनका तीनवटै क्षेत्र नाउपा नेपालको भागमा परेको छ । नवलपरासी क्षेत्र नम्बर १ नाउपा नेपाल र २ नम्बर क्षेत्र जसपाको भागमा परेको छ । नवलपरासी–२ रामुपा र १ नाउपा नेपाललाई दिइएको छ ।
रुपन्देही क्षेत्र नम्बर ५ रामुपालाई दिँदा १, २ र ३ नाउपा नेपाल र ४ नम्बर जसपाको भागमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर रामुपा, १ नाउपा नेपाल र २ जसपालाई दिने सहमति छ । दाङ क्षेत्र नम्बर २ रामुपा तथा १, ३ र ४ मा नाउपा नेपालले उम्मेदवारी दिने तय छ ।
बाँकेको १ र ३ नम्बर क्षेत्र नाउपा नेपाल र २ नम्बर जसपाले पाएको छ । बर्दिया १ र २ नम्बर क्षेत्र नाउपाको भागमा परेको छ । कैलालीको सबै क्षेत्र नाउपाको भागमा परेको छ । त्यस्तै कन्चनपुरको ३ नम्बर क्षेत्र रामुपा र १ र २ नम्बर नाउपालाई दिइएको छ ।
काठमाडौँ क्षेत्र नम्बर १, २, ४, ६, ७, ८, ९ र १० रामुपा तथा ३ र ५ नाउपा नेपालको भागमा परेको छ । जाजरकोट र हुम्लाको सिट रामुपाले पाएको छ । बागलुङ क्षेत्र नम्बर २ रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी रहेको बताइएको छ । डोटी, अछाम, रुकुमपूर्व र पाँचथर रामुपाको भागमा परेको छ । त्यस्तै, ललितपुर क्षेत्र नम्बर २ र ३ मा रामुपाले उम्मेदवार उठाउने सहमति भएको पार्टी स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा र ताप्लेजुङको १ मा रामुपा र जसपाबिच कुरा मिलाउन बाँकी छ । इलामको क्षेत्र नम्बर २ रामुपा र १ नम्बर जसपाले पाएको छ । संखुवासभा र धनकुटाको क्षेत्र नम्बर १ जसपा, तेह्रथुपको १ नम्बर रामुपा, भोजपुर, खोटाङ र ओखलढुङ्गाको १ नम्बर क्षेत्रमा जसपाले उम्मेदवारी दिने छ । रामेछाप र दोलखाको १ नम्बर क्षेत्र नाउपा नेपाल, काभ्रेको १ र २ नम्बर जसपा, भक्तपुरको १ र २ रामुपा, मकवानपुरको १ र २ जसपा, तनहुँ, म्याग्दीको १ नम्बर क्षेत्र जसपा र दैलेख तथा डोल्पाको १ नम्बर क्षेत्र रामुपाको भागमा परेको छ ।
नाउपा नेपालले रुपन्देही क्षेत्र नम्बर १ मा डा. उमाशंकार चौधरीलाई टिकट दिएको छ । त्यस्तै, कैलाली–५ बाट जगनाथ चौधरी र बारा–१ मा भुवनप्रसाद चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नाउपा नेपालका संरक्षक चौधरीले तीन दलबिच चुनावी सहकार्य गर्ने सहमति अनुसार सिट बाँडफाँट टुंग्याउने काम भइरहेको बताए ।