नेपाली सेनाको गौरव : बज्रदल गणले २२० औं वार्षिक उत्सव मनायो
१४ जेठ २०८२, मङ्गलबार
बाँके । बाँकेको राँझा स्थित श्री बज्रदल गणले आफ्नो २ सय २० औं वार्षिकोत्सव मनाएको छ । सोमबार राति गणको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक तथा बज्रदल गणका कर्णेल कमाण्डेन्ट उपरथी सुरेश कुमार कार्कीद्धारा पानसमा बत्ति बालेर वार्षिकोत्सव उद्घाटन गरिएको थियो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी कार्कीले देशमा परी आएको र देशले मागेको बेला नेपाली सेना सधैं देश र जनताको हितमा अग्रपंक्तिमा रहेर काम गर्दै आएको बताउनु भयो ।
उहाँले आम नागरिकलाई नेपाली सेनासँग सम्बन्धित जानकारी प्रदान गर्ने र सेनाले राष्ट्रिय अभिमान, एकता, आपसी सद्भाव र विश्वास जगाउन वार्षिकोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहेको स्मरण गर्दै उहाँले सेना देश र जनताप्रतिको त्यो जिम्मेवारी तथा कर्तव्यलाई पूरा गर्न इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय र कीर्तिमानी काम गरी आएको जिकिर गर्नुभयो । 
सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको सेनाले आफूलाई नागरिकका बीचमा विश्वासिलो सङ्गठनका रुपमा उभ्याएको उपरथी कार्कीको भनाइ थियो ।
सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको बताउदैं कार्कीले भन्नुभयो,"राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र तथा एकताको भावना उच्च संस्कार मानिन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।"
सोही क्रममा गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बज्रदल गणको संक्षिप्त ईतिहासका बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले आन्तरिक शान्ति सुरक्षा कार्यमा उक्त गणले गरेको व्यवस्थापनका विषयसँगै विकास निर्माण तथा विपद् व्यवस्थापन र उद्धार तथा प्रकृतिक संरक्षण कार्यमा पुर्याएको योगदानको चर्चा गर्दै उक्त गणमा कार्यरत तथा पेसागत प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई सम्मान गरिएको जानकारी दिनु भयो ।
उक्त वार्षिक उत्सवको अवसरमा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन शम्शेर ज.ब.रा., नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, बाँके प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर, राष्ट्रिय अनुसन्धान विभागका एसपि ओम खण्डका, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत लगाएत बाँकेका सरकारी र गैर सरकारी संघ संस्थाका प्रतिनीधिसँगै उद्योग व्यापारी र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
उक्त समारोहमा राष्ट्रिय गानसँगै विभिन्न विधाका लोक भाकाहरुमा केही सैनिक जवानहरुले साँस्कृतिक कार्यक्रममा आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा श्री नं. ४ बाहिनी अड्डाको मातहतमा रहेका विभिन्न गण र गुल्महरुबाट गणपतिसँगै गुल्मापतिहरुको पनि उपस्थिती रहेको थियो ।