दृष्टिविहिन जय बहादुरलाई पत्रकार दाहालले बनाईदिए पक्कीघर
२३ अशोज २०८१, बुधवार
बाँके । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिन परिवारको वर्षाले भत्किएको घर निर्माण भएको छ । बर्षातको पानीले घर भत्काइदिएपछि बेघर बनेका जय बहादुर विकलाइ पत्रकार दाहालले चौतर्फी सहयोग जुटाएर घर निर्माण गरिदिएका हुन् ।
दाहालकै सक्रियतामा निमार्ण सामाग्री र आर्थिक सहयोग जुटाई निमार्ण सम्पन्न भएको नवनिर्मित घर एक कार्यक्रम गरि दृष्टिविहिन जय बहादुर विकको परिवारलाई हस्तान्तरण गरिएको छ । दृष्टिविहिन विकको नवनिर्मित घरको समाजसेवी लिल बहादुर थापाले रिबनकाटेर उद्घाटन गर्नु भएको थियो ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक “तुफान”ले सञ्चारकर्मसँगै समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा पत्रकार दाहाललाई बधाई सहित धन्यबाद दिनु भयो । अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताउँदै दृष्टिविहिन जय बहादुर विकको घर बनाउन सहयोग गर्ने सबैलाई मावन हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिनु भयो ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशंसाका पात्र रहेको जिकिर गर्नु भयो । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको भनाई राख्नु भएको थियो ।
खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहिन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रशारण गरेको थियो । पत्रकार दाहालको पहल र दाहालका सहकर्मी गणेश राईको सक्रियतामा आर्थिक संकलन हुनुका साथै निर्माण सामाग्रीहरु स्वस्फूर्त संकलन भएको थियो ।
घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको उल्लेख गर्नु भयो । समावसेवी थापाले सञ्चारकर्मी भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको बताउनु भयो ।
घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पुर्व वडाध्यक्ष एमालेका नेता तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नु भयो । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताउनु भयो ।
घर हस्तान्तरणकै अवसरमा समाजसेवी लिल बहादुर थापाले विकलाई ६ महिना पुग्ने खाद्यान्न सामाग्री प्रदान गरेका गर्नु भएको थियो । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरीक्षक पुर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ, स्थानिय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।