नरैनापुर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनालाई उद्दार गरेको छ ।
मंगलबार राति ९ बजे नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपाल-भारतको सिमावर्ती जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गंगापुर लगायत गाउँका स्थानीयहरु राप्ती नदीमा एक्कासी पानीको बहाव बढेपछि भँगालोमा फसेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।
उद्दार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई बीओपी गंगापुरको विपद् व्यवस्थापन टोलीसँगै उद्दार कार्यमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, सशस्त्र प्रहरी नं. ३० बागेश्वरी गणका प्रमुख र सशस्त्र प्रहरी भगवानपुर बिओपी प्रमुख दीपक भट्ट, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य लगायत स्थानीय जनप्रतिनिधिहरु खटिएर उनीहरुको सकुशल उद्दार गरिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ।