काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे ।
उनले भने, ‘सबैभन्दा डर लाग्ने र खतरा कुरा के भने नेपाल बिस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ । यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन्–चाँडोभन्दा चाँडो निर्णय गर, नभए खारेज गर्छौँ । चीनका पदाधिकारीहरू भन्छन्–जबरजस्ती अनुदान दिनु हुँदैन । नेपालले अनुदान लिने वा नलिने भन्ने कुरा हामीले निर्णय गर्ने कुरा हो । देशलाई हित हुन्छ भने लिन्छौँ, हुँदैन भने हामी लिँदैनौँ । तर विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूलाई परिरहेको छ । यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ ।’ अध्यक्ष नेपालले विदेशी सहायता लिने÷नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए ।