काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।
राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हो । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।
एकता महाधिवेशनबाट पुनः नेतृत्व लिन खोजेका अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायत प्रभावशाली नेताको साथ रहेको छ भने लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूको साथ रहेको छ ।
तल्लो तहको अधिवेशनबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधि मतदाता रहने यो अधिवेशनमा ७ सय ५३ पालिकाका अध्यक्ष, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अध्यक्ष, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष र ७७ जिल्ला अध्यक्ष पनि महाधिवेशनमा पदेन प्रतिनिधिका रुपमा मतदाता रहन्छन् ।
पटक–पटक जुट्दै र फुट्दै आएको राप्रपा दोस्रो संविधानसभामा नेपालको चौथो ठूलो दलका रूपमा स्थापित थियो । संविधान जारी भएपछि अहिले प्रतिनिधिसभामा एक सिटमा खुम्चिएको राप्रपाको फुट्ने र जुट्ने क्रम जारी छ । राप्रपा नेता राजाराम श्रेष्ठ भन्नुहुन्छ– ‘यो अधिवेशन पहिलाको भन्दा फरक छ । राप्रपाका सक्रिय सदस्यबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छन् ।’
राप्रपाले २०७३ सालमा पनि एकता महाधिवेशन गरी शक्ति सञ्चय गरेको थियो । अघिल्लो एकता महाधिवेशनलगत्तै यो पार्टीबाट डा. प्रकशचन्द्र लोहनी अलग भई एकीकृत राप्रपा राष्ट्रवादी पार्टीको नेतृत्व गर्नुभएको थियो । ०७४ साल श्रावणमा यो पार्टीबाट पशुपतिशमशेर जबरा पनि अलग भई राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको थियो ।