बर्दिया । सहयोग, संवेदना र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण बनेको छ—बढैयाताल–३ सिमरास्थित भवानी माध्यमिक विद्यालय। बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि जुटाइएको न्यानो कपडा र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालय परिसरलाई करुणा र आशाको रंगले भरिदियो।
शुक्रवार सम्पन्न कार्यक्रममा विभिन्न सहयोगी हातबाट प्राप्त ज्याकेट, ऊलन टोपी, न्यानो कपडा तथा कापी, कलम, पेन्सिलजस्ता शैक्षिक सामग्री विद्यार्थीहरूलाई प्रदान गरियो। जाडो मौसममा न्यानोपन मात्र होइन, अध्ययनप्रतिको हौसला समेत थप्ने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकहरूले बताएका छन्।
बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला बि.क., वडा सदस्य आशिष, चर्च पास्टर सोनु बराईली, धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व अध्यक्ष दिलबहादुर केसी, प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति थियो।
सहयोगमा नेपालगन्जका डा. बिनोद थापा र धर्बेन्द्र बोहरा, बर्दिया निवासी रन्जित अधिकारी, नेपालगन्जका शमशेर महतरा, बर्दिया निवासी कुलबहादुर बि.क., दिपेन्द्र न्यौपाने र धनेश्वर यादवलगायत समाजसेवीहरू अग्रसर रहेका थिए।
कार्यक्रममा वक्ताहरूले बौद्धिक अपाङ्गता भएका विद्यार्थीप्रति राज्य, समाज र प्रत्येक नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता मानवीय पहलले उनीहरूको आत्मविश्वास, आत्मसम्मान र उज्ज्वल भविष्य निर्माणमा बल पुग्ने विश्वास व्यक्त गरे।
सिमरामा देखिएको यो सहकार्यले ‘सबैका लागि शिक्षा र सम्मान’ सम्भव छ भन्ने सन्देश फैलाएको छ।