बाँके । बाँके स्थित नरैनापुर गाउँपालिकाको २० औं अधिवेशनमा आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट तथा कार्यक्रमलाई अनुमोदन गर्दै विधेयकहरू पारित गरेको हो ।
गाउँसभामा अध्यक्ष शाहले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जयन्ती श्रीवास्तवले ४९ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।
पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक विकासका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै दलित, मुस्लिम, मधेसी, थारु लगायत समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि लक्षित कार्यक्रमहरू समेत समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभा सदस्य तथा वडा नम्बर १ का वडाध्यक्ष इसाक जोलाहा, वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम मौर्य लगायतले नीति, कार्यक्रम तथा बजेटमाथि धारणा राख्नुभएको थियो।
आर्थिक विधेयक र विनियोजन विधेयक २०८३ पारित भएसँगै नरैनापुर गाउँपालिकाको २०औं अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत भरत महतोले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन लेखा अधिकृत प्रकाश अधिकारीले दिनुभएको थियो ।