बाँके, ४ असार । ग्रामीण बस्तीका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यका साथ बाँकेको जानकी गाउँपालिकामा निर्माण गरिएको १५ शैयाको अस्पताल भवन बिहिबार एक कार्यक्रमका बीच निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्मका लागि टाढा धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
अस्पताल भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा चिकित्सक र आवश्यक सेवा नहुँदा नागरिकहरू महँगा निजी अस्पताल तथा शहरसम्म पुग्न बाध्य भएको उल्लेख गर्दै अब त्यस अवस्थाको अन्त्य गरिने बताउनुभयो।
उहाँले गाउँपालिकाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर शिक्षा, सडक, खानेपानी लगायतका आधारभूत सेवासँगै स्वास्थ्य पूर्वाधार विस्तारमा लगानी गरिरहेको बताउनुभयो। “नागरिकले आफ्नै गाउँमा गुणस्तरीय सेवा पाएपछि बसाइँसराइ कम हुनुका साथै जीवनस्तरमा समेत सुधार आउनेछ,” अध्यक्ष खाँले भन्नुभयो।
अध्यक्ष खाँले अस्पताल भवन निर्माण सम्पन्न भएसँगै अब आवश्यक स्वास्थ्य उपकरण, औषधि र दक्ष जनशक्ति व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिने जानकारी दिनुभयो। “भवन मात्रै भएर पुग्दैन, आवश्यक उपकरण र चिकित्सकको व्यवस्था अनिवार्य छ,” उहाँले जोड दिनुभयो। आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालन र सेवा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले निर्माण कम्पनी हिम सागरमाथा–अनका जेभीले भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिनुभयो। उहाँले अस्पताल सञ्चालनमा आएपछि जानकीवासीले विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार २०७८ माघ महिनामा करिब ११ करोड ४४ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको अस्पताल भवन आज सम्पन्न भएको हो। उहाँले अस्पतालबाट तत्काल प्रसूति सेवा सञ्चालन गर्ने तयारी भइरहेको र अन्य स्वास्थ्य सेवाहरू आगामी आर्थिक वर्षदेखि क्रमशः सञ्चालनमा ल्याइने बताउनुभयो।
हाल ७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकाका बासिन्दाले सामान्य उपचारका लागि समेत नेपालगञ्जलगायत अन्य स्थान पुग्नुपर्ने अवस्था भोग्दै आएका थिए। समयमै उपचार नपाएर ज्यान गुमाएका घटनाले स्थानीय समुदायलाई लामो समयसम्म पीडा दिएको थियो। अस्पताल भवन निर्माणसँगै स्थानीयवासीमा सहज स्वास्थ्य सेवाप्रतिको आशा र भरोसा बढेको छ।
गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक दरबन्दी सिर्जना गरी चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राज कुमार बर्मा, वडा नं ४ वडा अध्यक्ष रमेश कुमार बर्मा, ५ का अध्यक्ष टिकानाथ यादव, वडा नं ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, जिन्सी शाखा प्रमुख राजु यादव, स्वास्थ्य संयोजक दल बहादुर राना, स्वास्थ्य चौकी इन्चार्ज नन्दा गिरि, स्वास्थ्य निरिक्षक टामलाल बेल्बासे, सामाजिक बिकास समितिका संयोजक राम अचल धोबी, इन्जिनियर पराजेस कुमार आले, निमार्ण व्यवसायीका इन्जिनियर जिवन थापा, निर्माण कम्पनीका दिपक खड्का, स्वास्थ्य अधिकृत महिमा केसी लगायत जनप्रतिनिधि, सुचना प्रविधि अधिकृत बिकास जिसी लगायत जनप्रतिनिधि, कर्मचारी र सार्वसाधारणको सहभागिता रहेको थियो ।
नवनिर्मित अस्पताल सञ्चालनमा आएपछि जानकी गाउँपालिकाका नागरिकले आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच गाउँमै प्राप्त गर्ने अपेक्षा गरिएको छ, जसले ग्रामीण स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।