काठमाडौँ । एक ढिक्का हुँदा सशस्त्र द्वन्द्व हुँदै देशकै शासन प्रणाली परिवर्तनमा प्रमुख भूमिका खेलेको माओवादी आज टुक्रा–टुक्रामा विभाजित छ। विस्तृत शान्ति सम्झौताको १८ वर्ष बित्नै लाग्दा झन्डै एक दर्जन दलका रूपमा माओवादीहरू विभाजित छन्। त्यति मात्रै होइन कतिपय अवस्थामा एकले अर्काको अस्तित्वसमेत अस्विकार्दै आएका छन्।
यति हुँदाहुँदै पनि माओवादी घटकहरूले एकीकृत हुनुपर्ने आवश्यकता महसुस भने गरेका देखिन्छन्। खासगरी प्रमुख घटक मानिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेलाबखत एकताको आह्वान गर्ने गरेका छन्। केही घटकबीच एकताबारे बहस तथा छलफल हुँदै आए पनि यसमा ठोस प्रगति देखिँदैन।
माओवादी केन्द्रका महासचिव देव गुरुङ भने ढिलो चाँडो माओवादी एक हुने दाबी गर्छन्। उनी भन्छन्, ‘सबैसँग सहमतिको प्रयास भइरहेको छ। सहमति जुटेपछि भइहाल्छ।’
विभाजित माओवादी घटकहरूमध्ये अहिले नेत्रविक्रम चन्द ’विप्लव’ प्रचण्डका नजिक देखिन्छन्। उनले पार्टी केन्द्रीय कमिटीबाटै माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गराएका छन्। तत्काल सबै माओवादी एक हुन भने विभिन्न पक्षले अवरोध खडा गर्दै आएको विप्लव नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका इञ्चार्ज माइला लामा औंल्याउँछन्। उनी यसमा खासगरी दुईवटा कारण देख्छन्।
‘पहिलो पश्चिमा साम्राज्यवादी र दक्षिणपन्थी शक्तिहरू नेपालका कम्युनिष्टहरू, त्यसमा पनि माओवादीहरू त मिल्दै नमिलून् भन्ने चाहन्छन्। हाम्रा पार्टीमा होइन, अन्य पार्टीलाई प्रभाव र दबावमा पार्न खोजेका छन् र ती पार्टीका नेताहरूले पनि वेला–वेला यसबारे बोल्ने गर्नुभएको छ। अर्को चाहिँ हामीले हेर्दा माओवादी धारमै एउटा सानो पंक्ति नवधनाढ्य वर्गमा उक्लेको छ। त्यसरी आर्थिक जीवनमा विचलित भएकाहरूबाट एकतामा अवरोध भएका छन्’, उनी भन्छन्, ‘त्यसबाहेक ८० प्रशितभन्दा बढी माओवादी एकता चाहन्छन्।’
माओवादी केन्द्र र विप्लव नेकपाले सबै माओवादी एक हुने सम्भावना जीवितै रहेको दाबी गरिरहँदा अन्य घटकहरू भने त्यसमा सहमत देखिँदैनन्। खासगरी माओवादी वृहत् एकता प्रक्रिया प्रचण्डकै कारण अघि बढ्न नसकेको उनीहरूको आरोप छ।
यति हुँदाहुँदै पनि पछिल्लो समय प्रचण्ड–विप्लवबीच एकताबारे भएको संवाद सकारात्मक रहेको नेता लामाले बताए। अन्य माओवादीहरू पनि अरूको दबावमा नपरी एकतामा आउनुपर्ने मत उनको छ। ‘प्रचण्ड र विप्लव कमरेडबीच भएको छलफलमा माओवादी र हामी एकताबद्ध भएर जाने छलफल सकारात्मक छ। त्यसमा पनि मोर्चा त बनिसकेको छ। त्यसकारण एकताको पक्षमा प्रचण्डजी हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो’, उनले भने, ‘अरू सबै माओवादी पनि आउनुपर्छ। होइन भने क्रान्तिकारी आन्दोलन कमजोर हुन्छ र भोलि देशमा ठूलो दुर्घटना निम्तिन सक्छ।’
विचारधारा, नेपाली विशेषताको समाजवाद, अहिलेको संसदीय व्यवस्थाबाट देश र जनताले सही नेतृत्व पाएनन् भन्ने जस्ता विषयमा माओवादीहरू एक ठाउँमा रहेकाले बृहत् माओवादी एकताको वातावरण बन्ने नेता लामाको विश्वास छ। ‘मात्रै हाम्रो बहसको विषय कार्यदिशा कस्तो बनाउने भन्ने हो। नेतृत्व भन्ने कुरा पनि सिद्धान्तसँग सहमत भइसकेपछि संठनात्मक भूमिका मिलाउने सवालमा धेरै अवरोध हुन्छ जस्तो लाग्दैन’, उनले भने।
माओवादी केन्द्र र विप्लव नेकपाले सबै माओवादी एक हुने सम्भावना जीवितै रहेको दाबी गरिरहँदा अन्य घटकहरू भने त्यसमा सहमत देखिँदैनन्। माओवादी बृहत् एकता प्रक्रिया प्रचण्डकै कारण अघि बढ्न नसकेको उनीहरूको आरोप छ।
को के भन्छन् ?
गत आमनिर्वाचनपछि माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता प्रक्रिया नै अघि बढेको थियो तर पछि एकता हुनुको साटो उल्टै नेसपा विभाजित भयो। सांसद समेत रहेका महिन्द्रराय यादव समूह माओवादी केन्द्रमा समाहित हुन तयार भयो भने नाम, नेतृत्व, चुनाव चिह्न, झन्डा, वैचारिक सिद्धान्त, कार्यदिशा, संगठनात्मक संरचनालगायत विषयमा विमति राख्दै बाबुराम पक्ष अलग रह्यो। यादव पक्षले त ३ चैत २०८० मै एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ।
आफूहरूले रूपान्तरणसहितको एकता चाहेको तर माओवादी झनै विकृत हुँदै गएकाले पुनः एकताको सम्भावना कमै रहेको नेसपा उपाध्यक्ष हिसिला यमी औंल्याउँछिन्। ‘हामीले त रूपान्तरणसहितको एकता भनेका हौँ’, उनी भन्छिन्, ‘तर अहिले सत्तामा रहेका दलहरूले देशको हालत खराब बनाएका छन्, यसमा हामी फेरि किन मिसिन जानुपर्यो? हिजो हामी एउटै विरासतबाट आएका हौं, बरु हामीलाई लाज लागिरहेको छ।’
अर्को घटक नेकपा माओवादी–समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी देशको जनता र वर्गप्रति जवाफदेही हुने खालको एकताको वातावरण नै नबनेको बताउँछन्। माओवादीहरूबीच एकता आवश्यक भए पनि कुर्सीमोहबाट प्रचण्ड अलग हुन नसक्दासम्म त्यो सम्भव नभएको उनी बताउँछन्।
‘देश जनता र वर्गप्रति जवाफदेही हुने गरी हामीले एकता चाहेको हो’, प्रचण्डले गर्ने गरेको आह्वानबारे उनले भने, ‘क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउने, समाजवादी आन्दोलनलाई एकताबद्ध गर्ने गरी उहाँले एकताको कुरा उठाउनुभएकै होइन। पछिल्लो समयको उहाँको आह्वान कुर्सीका लागि हो भन्ने देखिन्छ।’
माओवादी कम्यूनिष्ट पार्टी, नेपालका महासचिव रामनारायणप्रसाद पाल पनि विकृति गणतन्त्रविरुद्ध लड्ने आँट प्रचण्डमा नदेखिएकाले माओवादी बृहत् एकताको सम्भावना सधैँलाई टरेको बताउँछन्।
‘अहिलेको गणतन्त्र होइन, विकृत गणतन्त्र मात्र हो। संविधानमा हामीले सार्वभौम जनता भनेका छौँ तर सेवक भन्नेहरूले जनतालाई दुःखबाहेक केही दिएनन्। यसबाट बाहिर निस्केर लड्न थालेपछि बल्ल माओवादी एक हुन्छन्’, उनी भन्छन्, ‘तर यो सम्भव देखिँदैन। किनभने माओवादी भन्नेहरू सुविधाभोगी भए। जसको विरुद्धमा हिजो लडियो, आज तिनैसँग साँठगाँठ गरियो। त्यसकारण माओवादी एक हुन्छन् जस्तो मलाई लाग्दैन।’
अप्ठ्यारो परेका वेला मात्र प्रचण्डले एकताको कुरा गर्ने गरेको महासचिव पालको आरोप छ। उनले भने, ‘प्रचण्डजीले अप्ठ्यारो परेका वेला मात्र माओवादी एकताको आह्वान गर्नुहुन्छ। जसबाट विपक्षीलाई र आफूविरुद्ध लागेका अन्तर्राष्ट्रिय शक्तिलाई तर्साउन सकियोस् र सत्तामा टिक्न सकियोस् भन्ने उद्देश्य देखिन्छ।’
विश्लेषकको नजरमा को दोषी ?
विश्लेषकहरू पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै कारण बृहत् माओवादी एकता असम्भव रहेको औंल्याउँछन्। आफ्नो नेतृत्वलाई अकाट्य रूपमा स्विकारेर आउनेलाई मात्रै प्रचण्डले ठाउँ दिने गरेकाले अब माओवादी एकता असम्भव रहेको विश्लेषक मुमाराम खनाल बताउँछन्।
आफ्ना विरोधीलाई मनोवैज्ञानिक दाबावमा राख्न मात्रै प्रचण्डले वेलाबखत माओवादी एकताको आह्वान गर्ने गरेको उनी बताउँछन्।
‘प्रचण्डले यस्तो अवस्थामा मात्रै एकता गर्न सक्छन्, जब कोही उनको नेतृत्वलाई अकाट्य रूपमा स्वीकार गरेर झुकेर आउँछ’, विश्लेषक खनाल भन्छन्, ‘प्रचण्डले वेलावेला आह्वान त गर्नुहुन्छ तर यो कुन वेला भने आत्मबल कमजोर भएको वेला। तपाईंले हेर्नुभयो भने अन्य पार्टीले संक्रमणकालीन न्यायको विषयलाई लिएर गिजोल्दा माओवादी कमजोर बनाउन सकिन्छ भनेर कुरा उठाउने उहाँले माओवादी एक हुनुपर्छ भनिहाल्नुहुन्छ। यो मिल्नका लागि होइन‚ अरूमाथि मनोवैज्ञानिक दबाव सृजना गर्ने तहसम्म मात्रै यो आउँछ।’
माओवादीका अन्य घटक एकतामा सहमत भए पनि पार्टीभन्दा बढी झगडा शक्तिशाली हुने विश्लेषक खनालको बुझाइ छ। ‘अहिले भएकालाई त अड्याउन नसक्ने स्थिति छ भने अरू ल्याइए झन् के होला’, उनी भन्छन्, ‘सबै एकै ठाउँ भए पनि माओवादीलाई पुनर्जीवित गर्न अब सम्भव छैन। त्यो भयो भने त पार्टी शक्तिशाली होइन, झगडा बढी शक्तिशाली हुन्छ।’
प्रचण्डकै कारण माओवादी एकता सधैँका लागि टर्दै गएको र माओवादी थप विघटनतिर जाने उनको विश्लेषण छ। ‘प्रचण्डकै कारण सधैँका लागि माओवादी बृहत् एकताको सम्भावना टर्दै गएको देखिन्छ’, विश्लेषक खनाल भन्छन्, ‘प्रचण्डले व्यक्तिवादी र पारिवारिक पार्टी बनाएका छन्। त्यो उनले छाड्दैनन्, असन्तुष्टि बढ्दै जान्छ र एकता होइन, क्रमशः विघटित हुँदै जाने देखिन्छ।’