बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया तीव्र बनेको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रमुख दल तथा चर्चित नेताहरूको उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढ्दै गएको छ ।
नेकपा (एमाले) बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य सूर्य ढकालले संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अनुभवी नेताका रूपमा परिचित ढकालको उम्मेदवारीसँगै बाँके १ मा प्रतिस्पर्धा चर्किने देखिएको छ ।
यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुभएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा रहनु भएका राईको एमालेबाट उम्मेदवारी दर्तासँगै बाँके २ को चुनावी समीकरण थप रोचक बनेको छ ।
यसअघि सोही निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का सरस्वती प्रसाद वर्मा, स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद गिरी, मजदुर किसान पार्टीका प्रकाश शाह तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहमहामन्त्री ऋषिराज देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
त्यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट खगेन्द्र सुनारले प्रथम नम्बरमा मनोनयन दर्ता गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्तासँगै निर्वाचन कार्यालयमा उम्मेदवार, समर्थक र कार्यकर्ताहरूको उल्लेख्य भीड देखिन थालेको छ ।