काठमाडौं । सत्ता गठबन्धन दलले काठमाडौंलगायत सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । गठबन्धन स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको नेकपा माओवादीका नेता देव गुरुङले जानकारी दिए ।
उनका अनुसार सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । साथै, बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने पनि बैठकले निर्णय गरेको नेता गु्रुङले बताए । सत्ता गठबन्धनबीच बुधबार ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुंग्याएका थिए । त्यससँगै गबबन्धनका नेताहरुले चुनावी प्रचारलाई तिव्रता दिन सुरु गरेका हुन् ।