काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ रहेका छन् ।
ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए । अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका– ६, बौद्ध र श्रेष्ठ कागेश्वरी मनफहरा नगरपालिका–६ मूलपानीका बासिन्दा हुन्। काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् ।