बाँकेमा रहेको ४०३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन
१८ फाल्गुन २०८२, सोमबार
बाँके १८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाभरका १३९ मतदान स्थलअन्तर्गत ४०३ मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भइसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगंजका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालका अनुसार निर्वाचन सामग्री बुझेर खटिएका सम्पूर्ण कर्मचारी आ–आफ्नो मतदान केन्द्रमा सुरक्षित रूपमा पुगिसकेका छन् । उहाँले केन्द्रमा पुगेपछि आवश्यक प्रशासनिक काम सोमबार बेलुकासम्म सम्पन्न गर्नुपर्ने जानकारी दिनुभयो ।
मतदान केन्द्रको चारकिल्ला तोक्ने, परिधि निर्धारण गर्ने तथा निषेधित क्षेत्रबारे सर्वसाधारणलाई जानकारी गराउने सूचना स्पष्ट रूपमा टाँस्ने कार्य तीव्र गतिमा भइरहेको छ । सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले मतपत्रसहितका सिलबन्दी सामग्री बुझ्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
मतदान अवधिभर कर्मचारी र सुरक्षाकर्मी सँगै रहने व्यवस्था गरिएको छ भने मतपत्र तथा अन्य संवेदनशील सामग्रीको सुरक्षाको पूर्ण जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ । सुरक्षाकर्मीलाई २४सै घण्टा निगरानी राख्न निर्देशन दिइएको छ ।
कार्यविधिअनुसार प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र तोकिएको छ । एउटा केन्द्रमा बढीमा एक हजार मतदाता रहने प्रावधान छ । मतदाता संख्या धेरै भएको स्थानमा क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र राखिए पनि एउटै स्थलमा सातभन्दा बढी केन्द्र नराखिने व्यवस्था गरिएको छ ।
निर्वाचन कार्यालय, बाँकेका सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्कीका अनुसार मतदान केन्द्रमा पुगेलगत्तै सर्वपक्षीय बैठक आह्वान गरिने, निर्वाचन प्रचारप्रसार निषेध गरिएको सूचना जारी गरिने तथा विभिन्न चरणमा मुचुल्का तयार पारिनेछ ।
नेपालगंज–९ स्थित बाल मन्दिर मतदान केन्द्रमा पनि कर्मचारी पुगेर आवश्यक सूचना टाँसिसकेका छन् । सहायक मतदान अधिकृत शान्ता सिहं शाहीले मौन अवधि सुरु हुनुअघि नै सम्पूर्ण तयारी पूरा गरिएको बताउनुभयो ।
यसैगरी डुडुवा गाउँपालिकाका मतदान केन्द्रहरूमा पनि कर्मचारी र सुरक्षाकर्मी पुगेर आवश्यक व्यवस्थापन कार्य सम्पन्न गरि सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ बाँकेमा सुरक्षा तथा व्यवस्थापन दुवै पक्षलाई सुदृढ बनाइएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।