बाँके । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगञ्जका केही वडामा लामो समयदेखि देखिँदै आएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आफू पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा मतदातासँगको भेटघाटका क्रममा स्थानीय रामु कनोजियाले स्वच्छ खानेपानीको गम्भीर समस्या उठाएपछि उम्मेदवार बिष्टले यो समस्या जनजीविकासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने स्पष्ट आश्वासन दिनुभयो।
उहाँले भन्नुभयो,“खानेपानी नागरिकको आधारभूत अधिकार हो। वर्षौंदेखि झेल्दै आएको यो समस्या अब टार्न मिल्दैन। दीर्घकालीन समाधानका लागि आवश्यक समन्वय र पहल म गर्नेछु।”
वडा नम्बर ३ का वडा अध्यक्ष अयुब सिद्दिकीले खानेपानी संस्थानले आवश्यक पाइपलाइन विस्तार नगर्दा स्थानीयवासी स्वच्छ खानेपानीबाट वञ्चित रहनुपरेको जानकारी दिनुभयो। समस्या समाधानका लागि खानेपानी संस्थानलाई औपचारिक पत्राचार गरिसकिएको उहाँले बताउनुभयो।
स्थानीय समस्याप्रति प्रतिबद्धता जनाउँदै उम्मेदवार बिष्टले मतदातालाई सम्बोधन गर्दै भन्नुभयो,“म तपाईँहरूको समस्या समाधानका लागि लाग्नेछु। तपाईँहरूले पनि तारा चुनाव चिन्हमा मतदान गरेर मलाई जिताउन सहयोग गर्नुहोला।”
उम्मेदवार बिष्टको स्पष्ट धारणा र प्रतिबद्धताप्रति सन्तुष्टि व्यक्त गर्दै स्थानीयवासीहरूले आफूहरू बिष्टलाई नै मतदान गर्ने प्रतिबद्धता जनाए ।
मतदाता भेटघाट कार्यक्रममा बिष्टसँगै नेपाली कम्युनिष्ट पार्टीका समानुपातिक उम्मेदवार कालि मियाँ र जामिया खातुनको पनि उपस्थिति रहेको थियो। स्थानीयसँगको प्रत्यक्ष संवादले वडा नम्बर ३ मा चुनावी माहोल थप उत्साहित बनेको देखिएको छ।