काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने प्रस्ट पारेकी छन् ।
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने राजनीतिक र वैचारिक आधार निर्माण गर्नका लागि जारी महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् । पार्टीको राजनीतिक विचारधारा नयाँ तय गर्ने, संगठनलाई नयाँ रूप दिने र देशलाई पनि एउटा नयाँ बाटो लैजानका लागि महाधिवेशन केन्द्रित हुने उनको भनाइ थियो ।
उनले महाधिवेशन हुनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेकाले राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा महाधिवेशनमा रुपान्तरण गरिएको बताइन् ।
उनले भनिन्– ‘हामीले राष्ट्रिय सम्मेलनको तयारी गरेका थियौं। वडादेखि पालिका हुँदै हामीले प्रतिनिधि छान्दै आएका थिए,’ उनले भनिन्, ‘महाधिवेशनको सबै प्रक्रिया पूरा गरेकाले आठौँ महाधिवेशन गर्न गइरहेको छौं।’