बाँके । बेमौसमी वर्षापछि आएको बाढीका कारण क्षति पुगेको धानबालीमा राहत दिन सरकारसँग अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बाँकेले माग गरेको छ।
विपत्तिबाट प्रभावित घरधुरीको यथार्थ तथ्यांक संकलन गरी प्रभावित किसान परिवारलाई खेती भित्र्याउन तत्काल सहायता उपलव्ध गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री मार्फत सरकार संग माग गर्नु भएको छ ।
महासंघका अध्यक्ष मानबिर थापाले शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीलाई ८ बुँदे माग सहित ज्ञापनपत्र बुझाउदै प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नु भयो ।
बाढीले गहुँबाली, आलुबालीमा समेत क्षति पुगेको महासंघले जनाएको छ । ‘पराल समेत खेतमा नै कुहिएकोले वर्षभरि खुवाउने पशु आहार नष्ट भएको छ, किसानको वर्ष दिनको छाक नै खोसिएको छ’ ज्ञापनपत्रमा भनिएको छ ‘कडा मेहनत गरेर फलाएको अन्न भित्र्याउने बेलामा भएको यस नोक्सानीले किसानलाई निराश बनाएको छ । खाद्य संकट एवं खाद्य सुरक्षामा थप चुनौती अध्यक्ष थापाको भनाई रहेको थियो ।’ ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेता तारा खत्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।