बाँके । बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु। ७८ प. ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय बस्नेत गम्भीर घाइते हुनुभएको थियो । बस्नेतलाई उपचारका लागि सञ्जीवनी मेडिकल कलेज अफ साइन्सेस नेपालगन्ज पुर्याइएको थियो । तर, अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस्नेत कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दियातर्फ फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेको बताइएको छ ।