काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेता राजेन्द्रलाई जिताउनका लागि बाँके लगायत देशभरका युवाहरु सक्रिय देखिएका छन् ।
आज बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा दिने छन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरू खुलेर साथ दिएको महाधिवेशन प्रतिनिधि मोहम्मद सफिक बेहनाले बताए ।
पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए ।
लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।
पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
अध्यक्ष पदमा उम्मेदवारी दिन चाहेका नेता थापालाई लिङ्देनको आग्रह थियो, ''समयको पदचापलाई बुझ्नुस्। समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरू अघि बढ्ने बाटो खोलिदिनुस्। ''
काठमाडौंमा मंसिर १५ गते देखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै १७ गते सम्पन्न हुने छ । राप्रपाको एकता महाधिवेशनलाई सफल बनाउनका करिब ४ हजार ५ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।