नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त समुदाय हो -पुर्व अध्यक्ष अन्सारी
२० वैशाख २०८२, शनिबार
बाँके । राष्ट्रिय मुस्लिम आयोगका निर्वतमान अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय भएको बताउनु भएको छ । आज नेपालगञ्जमा आयोजित नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त समुदाय भएको उल्लेख गर्नु भयो ।
“जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन । राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्छ । धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ”, मियाँले भन्नुभयो, “देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ । राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन ।”
उहाले सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको थियो ।
मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सेराज फारुकीले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि मुस्लिम समुदाय दशकौं देखि शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र सुरक्षा जस्ता आधारभूत क्षेत्रमा पछाडि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो,"मुस्लिम समुदायको अधिकार र पहिचानको सुनिश्चितता बिना नेपालको लोकतन्त्र अधुरो रहन्छ । सबै समुदायलाई समान अवसर र सम्मानित जीवनको प्रत्याभूति दिनु मात्रै लोकतन्त्रको मर्म हो । तर हाम्रो मुस्लिम समुदायले अझै पनि पर्याप्त प्रतिनिधित्व, समान अवसर र उचित विकासको पहुँच पाउन सकेको छैन ।"
अध्यक्ष फारुकीले,सरकार, नागरिक समाज र समुदाय स्वयंले हातेमालो गरेर मात्र मुस्लिम समुदायको वास्तविक उत्थान सम्भव हुने उल्लेख गर्दै उहाले यो केवल मुस्लिम समुदायको मात्र होइन, नेपालकै प्रगतिका लागि आवश्यक रहेको औल्याउनु भयो । उहाँले भन्नुभयो,"एमालेकै नेतृत्वमा अब यो काम अगाडि बढाउने बेला आएको छ । हामी सबै मिलेर समावेशी, समानतायुक्त र समृद्ध नेपाल निर्माण गर्न दृढ संकल्पित हुनुपर्छ ।"
राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र एमाले रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने फारुकीले जिकिर गर्नुभयो ।
केहि दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष फारुकीले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न एमाले जनताकै तागत लिएर अघि बढ्ने बताउनु भयो । उहाँले मुस्लिम समुदायलाई जोडेर बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्यलाई संवेदनशील हुन र धर्म निरपेक्ष राज्यमा धर्म विरोधी गतिविधि गर्नेहरुलाई कानुनी कारबाही गर्न आग्रह गर्नु भएको थियो । नेपालगञ्ज जारी ७ औँ महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्दै आइतबार सम्पन्न हुने संगठनका इन्चार्ज हारुन हल्वाइले जानकारी दिनु भयो ।