बाँके । बाँकेको नेपालगंजमा रहेको निल सागर आश्रममा रहेका दुई सय बृद्धबृद्धा र बालबालिकालाई खिचडी खुवाएर मक्र संक्रान्ति अर्थात माघी पर्व मनाइएको छ। मिथिला सेवा समाजले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर आश्रममा खिचडी खुवाएको सचिव भरत महतोले बताए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख अतिथियतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ÷आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।
उनले यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । आश्रममा आयोजित खिचडी खुवाउने कार्यक्रम बोल्दै प्रजिअ पोखरेलले “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको जिकिर गरे। उनले मिथिला सेवा समाजलाई जातिय र सम्प्रदायका आधारमा केन्द्रित भएर मात्रै नभएर मानव हितमा केन्द्रित भएर काम गर्न सुझाव दिदै माघी पर्वको शुभकामना दिएका थिए । प्रजिअ पोखरेलले निल सागर आश्रममा रहेका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सूर्य धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।
यस्तै मिथिला सेवा समाजले मानव सेवा आश्रममा रहेका ६८ जना आश्रित मानिसहरुलाई कम्बल ओढेर नरैनापुर गाउँपालिका अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी पोखरेल, बाँकेका प्रहरी उपरीक्षक सुभाष बोहरा र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले सम्मान गरेका थिए । कार्यक्रममा मेची महाकाली मधेशी समाजका केन्द्रीय कोषाध्यक्ष बेबि मण्डल, एमालेका नेता मिन बहादुर मल्ल, झबि शर्मा, जसपा नेपालका नेता अरूण सिंह लगायतको सहभागिता रहेको थियो ।
आज माघी पर्वका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नास हुने धार्मिक विश्वास छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।